
चौतारा । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङ निर्वाचित भएका छन् । अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत् निर्वाचित गरेको हो । उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित भएको संघको कार्यकारी निर्देशक विष्णु लामाले जानकारी दिए ।
संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गरिरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले मित्रता संघले असहाय बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउन गरेको योगदानलाई सम्मान गर्नुपर्ने बताए । सरकारले गर्नुपर्ने कर्तव्यलाई एउटा सामाजिक संस्थाले गर्नु भनेको गर्वलायक भएको उनको भनाई थियो । मित्रता संघलाई गतिशील बनाउन नगरपालिका सदैव तत्पर रहेको भन्दै नगरप्रमुख सापकोटाले आफ्नो क्षमताले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संघको कार्यकारी निर्देशक विष्णु लामाले आर्थिक वर्ष २०८१/८२ को प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले बालबालिकालाई शिक्षित, सवल, सक्षम, आत्मनिर्भर बनाउँदै गुणस्तरीय शिक्षाको विकास गर्नु संघको लक्ष्य रहेको बताउँदै बालमैत्री समाजको लागि शिक्षामार्फत आर्थिक विकासमा सम्मान सहभागिता सुनिश्चित गर्न संघ लागिरहेको बताए । संघले समुदायमा आधारित कार्यक्रम अन्तरगत स्थानीयको आयआर्जनमा टेवा पुर्याउनने, स्वास्थ्यमा पहुँच पुर्याउन विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गरेको लामाको भनाई थियो ।
कार्यक्रममा पत्रकार एवम् लेखक सुन्दर शिरीषले सामाजिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले हरेक सार्वजनिक निकायले गरेको काम नागरिकले थाहा पाउनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै सामाजिक लेखापरीक्षण गरिएको बताए । ‘पारदर्शिता र सुशासन प्रबद्र्धनको लागि सामाजिक परीक्षणले टेवा पुर्याउँछ’, उनले भने– ‘मित्रता संघको सामाजिक परीक्षण गरिरहँदा संस्थाले समाजमा पु¥याएको अतुलनीय योगदानलाई नजिकबाट बुझ्ने मौका पाएँ ।’ उनले संस्थाले स्थानीय सरकारसँग समन्वय गरी संघलाई अझ नागरिकको सारथि बनाउन सुझाव दिए ।
कार्यक्रमको उद्घाटन सत्रमा समाजसेवी गोकर्ण भारती, संघको पूर्व अध्यक्ष हरिचन्द्र भारती, समाजसेवी एवम् शिक्षक कृष्णबहादुर तामाङ, गोल्मादेवी माविका प्रधानाध्यापक ज्ञानबहादुर तामाङ लगायतले अधिवेशन एवम् वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । संघको बित्त प्रमुख संगीता नेपालीले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।



शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ