
बाह्रविसे । राजनीतिशास्त्रमा पिएचडी गर्दै गरेका ३३ वर्षिय युवा समिर श्रेष्ठ हातमा गुलाव बोकेर सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नंं. १ को प्रत्येक घरमा पुगिरहेका छन् ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) बाट उम्मेद्वार बनेका उनले मतदातासमक्ष युवा, रोजगार र भ्रष्टाचारका मुद्दा उठाउँदै त्यसको हल गर्न आपूm चुनावी मैदानमा होमिएको बताउँदै आएका छन् । ‘भूकम्प, बाढी–पहिरो, गरिबी र राज्यको बेवास्ता सहँदै आएको यो जिल्ला सधैं शासकहरूको उपेक्षामा पर्रयो’, मतदातासमक्ष उनी भन्छन्– ‘जिल्लाले भोगेका समस्याहरुलाई सम्बोधन गर्दै युवालाई राष्ट्रमै स्वरोजगार बनाउने मूख्य योजनाको खाका कोरेर चुनावी मैदानमा होमिएको हुँ ।’
संसदमा देशभक्त प्रतिनिधिहरुको प्रतिनिधित्व भएन भने राष्ट्रको अस्तित्व नै गम्भीर संकटमा जान सक्ने उनको भनाई छ । ‘जेनजी आन्दोलनको भावना अनुरुप सरकार निर्माण हुन सकेन, अबको निर्वाचनबाट सोहीअनुरुप संसदमा प्रतिनिधित्व भएन भने देशको सार्वभौमसत्ता खतरामा पर्छ,’ उनले भने । मतदाताले नयाँ विकल्प खोजेको भन्दै यउनले आफू र आफ्नो पार्टीनै वास्तविक नयाँ भएको जिकिर गरे ।
अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक प्रतिनिधिसभा, कर्मचारी प्रशासन, अदालत, सुरक्षा, आर्थिक क्षेत्र सबैमा समानुपातिक सहभागिता, नयाँ भूमि व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यको सुनिश्चितता जस्ता व्यवस्थाले नेपाल वास्तवमै एकीकृत र स्वाधीन बनाउने प्रस्तावसहित आपूm मतदाताको घरदैलोमा पुगिरहेका श्रेष्ठले बताए ।
‘राजनीतिक परनिर्भरता नतोडेसम्म देशले स्थिरता, आत्मनिर्भरता र संमृद्धि पाउदैन’, उनी भन्छन्– उनी भन्छन्– ‘अहिलेको निर्वाचन नेपाली जनताले जित्नु पर्ने एउटा मूख्य लडाईं हो । मतबाट यो लडाईं जित्न सम्पूर्ण मतदातालाई अपिल समेत गर्दछु ।’ उम्मेदवार श्रेष्ठले पार्टीले निरन्तर भ्रष्टाचार, एमसीसी, जनघात, राष्ट्रघात, करछली, मानवतस्करका विरुद्ध र समाजवादको पक्षमा संघर्ष गरेकाले जनताले पार्टीलाई जिताउने विश्वास व्यक्त गरे ।
काठमाडौँलाई उत्तरी छिमेकी चीनसँग जोड्ने अरनिको राजमार्ग, व्यापारिक नाका तातोपानीको प्रवेशद्वार हुँदै जुगल हिमालसम्म फैलिएको छ सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा श्रेष्ठसहित १८ जना उम्मेद्वार चुनावी मैदानामा होमिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटा, नेपाली कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, नेकपा एमालेबाट सरेश नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुलीसहित राप्रपाबाट राममणि न्यौपाने, उज्यालो नेपाल पार्टीबाट प्रताप लामा, मंगोल नेसनल अर्गानाइजेसनका दावा लामालगायत प्रतिस्पर्धामा छन् ।



शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ