
चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक लोकतन्त्रको अभ्यास सिन्धुपाल्चोकमा भने निकै पेचिलो बनेको छ ।
दुई पटकसम्म स्थगित भइसकेको जिल्ला अधिवेशन आगामी साउन २२ गतेका लागि तय गरिएको थियो । अधिवेशन नजिकिँदै जाँदा विवाद झनै उत्कर्षमा पुगेको हो । पार्टीको विधान र पद्धति अनुसार भन्दा पनि शक्ति र पहुँचको भरमा संगठन कब्जा गर्ने रणनीति बुनेको भन्दै संस्थापन पक्षका कार्यकर्ताहरूले केन्द्रको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला सभापति पदका लागि हाल पाँच जना आकांक्षषीहरू चुनावी मैदानमा देखिएका छन् । जसमा रास्वपाको केन्द्रीय र्याट विभागका संस्थापक सदस्य कुमार श्रेष्ठ, पासाङ तामाङ, चक्रपाणी सिग्देल, दिलाराम श्रेष्ठ र जंग प्रताप (जेपी) सिलवाल रहेका छन् । यी पाँच मध्ये जेपी सिलवालको उम्मेदवारीलाई लिएर पार्टीको केन्द्रीय निर्वाचन आयोगमा औपचारिक उजुरी परेपछि सिन्धुपाल्चोक रास्वपाभित्र विवाद चुलिएको छ ।
सिलवालमाथि नैतिक र वैधानिक दुवै आरोप छ । उजुरीमा दाबी गरिए अनुसार, सिलवाल हालसम्म पनि नेकपा (एमाले) बाट जुगल गाउँपालिका वडा नं. ४ का बहालवाला वडा सदस्य हुन् । उनले अझै पनि सोही हैसियतमा सरकारी भत्ता र सुविधाहरू लिइरहेको अवस्थामा रास्वपाको जिल्ला नेतृत्वमा दाबी गर्नु विधान विपरीत रहेको कार्यकर्ताहरूको तर्क छ ।
पाँच सदस्यका लागि १० जनाको उम्मेदवारी
रास्वपा सिन्धुपाल्चोकको नेतृत्व चयनको लागि साउन २२ गते हुने निर्वाचनमा ५ सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ ।
जिल्ला सदस्यमा महिला तर्फबाट कमला भण्डारी र लक्ष्मी अधिकारी सर्वसम्मत भए पनि बाँकी ५ सदस्यको लागि निर्वाचन हुन लागेको हो । रास्वपा सिन्धुपाल्चोकका अनुसार जिल्ला सदस्यको लागि नवराज भट्टराई, प्रदिप सिलवाल, गोकर्ण बिक्रम, धर्मलाल श्रेष्ठ, संसार श्रेष्ठ, पासाङतेम्बा शेर्पा, राजेश कुमार शर्मा, जितेन्द्र स्याङ्बो, गङ्गाबहादुर तामाङ र भुवेन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी परेको छ ।
यसैगरी सभापतिसँगै अन्य पदाधिकारीमा हुने प्रतिस्पर्धा पनि रोचक छ । सभापतिमा जेपी सिलवाल, पासाङ तामाङ, चक्रपाणि सिग्देल, कुमार श्रेष्ठ र दिलराम श्रेष्ठ मैदानमा छन् भने उपसभापतिको लागि मुके शेर्पा, निमायाङछिन लामा र ज्ञानी थापा बस्नेतले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै सचिवमा राजीव भवाल र सरोजा श्रेष्ठसँगै सहसचिवमा बिदुर खड्का र दोर्जे तामाङ मैदानमा छन् ।
यसैबीच सभापतिका उम्मेदवारमा जेपी सिलवाल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगका अनुसार उक्त उजुरीले सिलवालको उम्मेदवारीलाई केही असर भने गर्ने छैन । निर्वाचन आयोगका संयोजक भुवन केसीले हिजो कसले कुन पार्टीबाट जित्यो भन्ने कुराले अहिले अर्थ नराख्ने बताए । ‘रास्वपामा अधिकांश अरू पार्टीबाट आएका मान्छे छन्,’ उनले भने, ‘उजुरीउपर अध्ययन गरिरहेको तत्काल निष्कर्षमा पुग्ने छौं ।’



शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ