चौतारा । चैत २५ गते हुन लागिरहेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचनको लागि मनोनयन सुरु भएको छ ।
बिहान ११ः३० सम्म केन्द्रिय परिषद् सदस्यको लागि २ जनाको मनोनयन दर्ता भएको निर्वाचन समितिका सदस्य अमित घिमिरेले जनाए । केन्द्रिय परिषद् सदस्यमा २ जना निर्वाचित हुनेछन् भने प्रदेश परिषद् सदस्यमा ६ जना निर्वाचित हुनेछन् ।
केन्द्रिय र प्रदेश गठबन्धन बाहिर रहेर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले गठबन्धन गरेको छ । केन्द्र र प्रदेशमा ‘लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी’ पत्रकारको संयुक्त प्यानल सार्वजनिक गरी गठबन्धन गरिएको भए पनि जिल्लामा प्रेस संगठन र प्रेस चौतारी गठबन्धन गरी चुनावी मैदानमा होमिएको छ । यता प्रेस युनियन भने एक्लै चुनावी प्रतिष्पर्धामा छ ।
मनोनयन सुरु भए पनि दुबै प्यानलले उम्मेदवार घोषणा गर्न सकेका छैनन् । प्रेस युनियनमा ४ जनाले अध्यक्षको दावी गरिरहेका कारण उम्मेदवारी टुङ्गो लाग्न सकेको छैन । ध्रुव दंगाल, दुर्गा आचार्य, सीके चौलागाई र महेश श्रेष्ठले अध्यक्षको दावी गरिरहेका छन् । श्रेष्ठ अहिलेको सिन्धु शाखा अध्यक्षसमेत हुन । युनियनमा ४० मतदाता संख्या रहेको छ ।
यता प्रेस संगठन र प्रेस चौतारी गठबन्धनले अध्यक्षको टुङ्गो लगाएको भए पनि अन्य पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन । अध्यक्षमा जीवन श्रेष्ठलाई चयन गरिएको छ । प्रेस संगठनको भागमा महिला उपाध्यक्ष, सह–सचिव र ५ सदस्य र प्रेस चौतारीलाई खुला उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र ५ सदस्य दिने भनिएपनि आकांक्षीहरु बढी भएका कारण पदाधिकारी टुङ्ग्याउन हम्मे हम्मे परिरहेको छ ।
प्रेस संगठन र प्रेस चौतारी गठबन्धनमा ५६ मत छ । यसरी हेर्दा विवादरहित ढंगबाट उम्मेदवार उठाउने हो भने बाम गठबन्धनले जित्ने सम्भावना देखिन्छ । महासंघमा ९७ मतदाता छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ