चौतारा । सिन्धुपाल्चोक चौतारामा रहेको जुगल बोर्डिङ हाइस्कुलले पत्रकारका छोराछोरीलाई निःशुल्क अध्यापन गराउने घोषणा गरेको छ ।
बोर्डिङले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखासँगको समन्वयमा दुई जना पत्रकारका छोराछोरीलाई निःशुल्क पढाउने भएको हो । बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले मंगलबार नेपाल पत्रकार महासंघको आयोजनामा भएको विजया दशमी, दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो घोषणा गरेका हुन् ।
निःशुल्क अध्यापन गराउनका लागि पत्रकार महासंघले पत्रकारका छोरा या छोरीलाई सिफारिस गर्नुपर्ने गर्ने र हरेक वर्ष नवीकरण गर्ने गरि महासंघसँग सम्झौता गरिने बोर्डिङले जनाएको छ । प्रिन्सिपल उप्रतीले पत्रकार महासंघलाई बोर्डिङमा पढाउने बालबालिका सानो कक्षामा अध्ययनरतलाई पठाउन आग्रह समेत गरे । ‘हामीले कक्षा १० सम्म निःशुल्क पढाउनेछौं,’ उनले भने- ‘सानो कक्षाका बालबालिका भएपछि हामीले सेवा लामो समयसम्म दिन सक्छौं ।’ उनले ठूलो कक्षा भएमा दुई/तीन वर्ष मात्रै अध्यापन गराउन बाध्य हुने भएकाले सकेसम्म नर्सरी वा प्ले ग्रुपमा अध्ययन गर्ने बालबालिका चाहेको बताए ।
वर्षौं अघिदेखि एसएलसीमै जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गरेको यो अभिभावकले रुचाएका बोर्डिङ स्कुल हो । बोर्डिङको यो घोषणालाई पत्रकार महासंघले स्वागतयोग्य रुपमा लिएको छ । ‘पत्रकारको सन्ततीलाई निःशुल्क अध्यापन गराउनु स्वागतयोग्य कदम हो,’ नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठले भने, ‘यस कदमले सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई केहि मात्रामा भएपनि सहयोग पुग्नेछ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ