
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम हस्तान्तरण गरिएको छ ।
महासंघले ६० वर्ष नाघेकालाई यस्तो सहायता उपलब्ध गराउने नीति अनुरुप केसीलाई सहयोग गरिएको हो । हरेक वर्ष ६० वर्ष नाघेका क्रियाशील पत्रकारलाई दिइने यो रकम यो वर्ष केसीलाई प्रदान गरिएको पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताए । केसी अस्वस्थ्य भएकाले उनका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तर गरिएको थियो । उनलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । ‘सामाजिक सुरक्षा भत्ता स्वरुप पत्रकारलाई यस्तो सहायता प्रदान गरिन थालिएको हो,’ अध्यक्ष श्रेष्ठले भने– ‘यो हरेक वर्ष निरन्तर चल्नेछ ।’
उनले सिन्धुपाल्चोक शाखामा ६० वर्ष नाघेका केसी मात्रै भएकाले यो वर्ष यस्तो सहायता केसीलाई मात्रै प्रदान गरिएको हो । २००३ सालमा जन्मेका केसी अझै पत्रकारितामा सक्रिय छन् । हाल केसी नेपाल समाचारपत्र दैनिक र राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शान्ताराम विडारी, प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङलगायतले शुभकामना प्रदान गरेका थिए ।



शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ