
चाैतारा । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि चयन मतदानमा सिन्धुपाल्चोकका ५९ दशमलव २३ प्रतिशत कार्यकर्ताले सहभागिता जनाएका छैनन् ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा कुल मतदाता कार्यकर्ताको ४० दशमलव ७७ प्रतिशत मतदाताले मात्रै महाधिवेशन प्रतिनिधि चयनमा सहभागी भए । आईतबार बिहान दुबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको थियो । ९ हजार ३ सय ७९ कार्यकर्तामध्ये ३ हजार ८ सय २४ जना मात्रै मतदान प्रकृयामा सहभागि भएको निर्वाचन परिचालन कमिटीका संयोजक राधाकृष्ण श्रेष्ठले जानकारी दिए । १७ महाधिवेशन प्रतिनिधिको लागि ३२ जनाको उम्मेदवारी रहेको श्रेष्ठले बताए ।
प्रतिनिधि सभा क्षेत्र नं. १ मा कुल मतदाता कार्यकर्ता मध्ये ३६ दशमलव ३९ प्रतिशत मत मात्रै खसेको छ । ५ हजार ६ सय ६८ मतदाता कार्यकर्ता मध्ये २ हजार ६३ मत खसेको निर्वाचन परिचालन कमिटीले जनाएको छ । ९ जना महाधिवेशन प्रतिनिधिको लागि १८ जनाको उम्मेदवारी परेको क्षेत्र नं. १ मा बाह्रविसे नगरपालिकाको पूर्व उपप्रमुख सुशिला पाख्रिनले अत्याधिक मत ल्याईन । उनले १ हजार १ सय ४३ मत ल्याएकी हुन् ।
त्यस्तै एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष कमल नेपालले १ हजार ६०, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले ९ सय ३२, प्रेमलाल लामाले ९ सय २२, दिलकुमार लामाले ९ सय ३९ र प्रदीप पौडेलले ९ सय २१ मत ल्याएर निर्वाचित भए । भोटेकोशी गाउँपालिकाकी पूर्वउपाध्यक्ष दाबुटी शेर्पा लामाले ९ सय २० र बलेफी गाउँपालिकाकी पूर्वउपाध्यक्ष कमला श्रेष्ठ कायस्थले ८ सय ५३ ल्याई निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा आङदोर्जे शेर्पाले ९ सय ६१ मत ल्याई निर्वाचित भए ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा कुल मतदाता कार्यकर्ता मध्ये ४७ दशमलव ४५ प्रतिशत मत मात्रै खसेको छ । ३ हजार ७ सय ११ मतदाता कार्यकर्ता मध्ये १ हजार ७ सय ६१ मत खसेको निर्वाचन परिचालन कमिटीले जानकारी दियो । ७ जना महाधिवेशन प्रतिनिधिको लागि १३ जनाको उम्मेदवारी परेको क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिका पूर्वप्रमुख एवम् एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले सबै भन्दा बढी मत ल्याए । उनले १ हजार १ सय १२ मत ल्याई निर्वाचित भए ।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले १ हजार १ सय ३, हस्तबहादुर पण्डितले १ हजार ५२, मित्रलाल चौलागाईले ८ सय ९९, सुनिता पराजुलीले १ हजार १, बालकुमारी सापकोटाले ७ सय ८२ र ४० वर्षमुनिका युवामा हिरा चौलागाईले ७ सय ३१ मत ल्याई निर्वाचित भएका छन् । दलिततर्फ मथुरा विक सर्वसम्मत निर्वाचित भएका थिए ।
केन्द्रको लाइनअनुसार नै दुबै निर्वाचनमा क्षेत्रमा प्यानल खडा गरेर प्रतिनिधि छनोटका लागि निर्वाचन भएको थियो । एमाले आन्तरिक निर्वाचनमा गुटीय शक्ति सन्तुलन स्पष्ट रूपमा देखिएको छ । निर्वाचित १७ जना महाधिवेशन प्रतिनिधिमध्ये १० जना पार्टी उपाध्यक्ष ईश्वर पोखरेल समूहको र ७ जना पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको पक्षको रहेको एमाले स्रोतले जनाएको छ ।



शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ