• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ जेष्ठ ७, बुधबार | Wednesday, 21, May, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • २लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ३सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ४बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ५चौताराले जित्यो ३० स्वर्ण
  • ६चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर
  • ७स्ववियु: एक चर्चा
  • ८श्रीकृष्ण रत्नगंगाको विव्यसमा माओवादी समर्थित विजयी (मत संख्यासहित)

दसैं संगीतः नौमतीमा मालसिरी

Dhurbasyatya Pariyar ध्रुबसत्य परियारप्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (३ साल अघि)
  • २२१४ पाठक संख्या
  • Dhurba Satya
    ‌‌‌

    संगीतकार आशिष अविरलले मालसिरी धुनलाई नवीन र सिर्जनशील शैलीमा ‘इम्प्रोभाइज’ गरी नौमतीबाजामा संयोजन गरेका छन् । उनले नौमती बाजामा तयार गरेको मालसिरी धुन युट्युबमार्फत सार्वजनिक भएको छ । सहनाईले नेतृत्व गरेको मालसिरी धुन मनलाई आल्हादित, आनन्दित र उल्लासमय पार्ने खालको बनेको छ। सहनाईको मधुर सुर, कर्णाल र नरसिंगाको उल्लासमय ध्वनि, ट्याम्को, ढोलकी, झ्याली र दमाहाको ऊर्जामय तालमा यो धुन निकै कर्णप्रिय सुनिएको छ ।

    संगीतकार अविरल भन्छन्, ‘यसमा मैले पाश्चात्य कर्ड प्रोग्रेसनको सहायता लिएको छु। तर, यसको मौलिकतामा परिवर्तन भएको छैन । नौमती बाजाको संयोजन, विशेषतः सहनाईको धुनले यसमा मौलिकता थपेको छ ।’ मालसिरी लोकधुन हो, मंगलधुन हो। यस धुनलाई दशैंका बेला विशेषतः तबलाको तालमा सरोद, सितार, तानपुरा, बाँसुरी आदिमा बजाइन्छ । पछिल्लोकालमा अन्य विभिन्न बाजामा यसलाई बजाउने अभ्यास गरेको पाइन्छ ।

    संगीतकार अविरलले सानैदेखि रेडियोमा यो धुन सुनेका थिए । जातीय रूपमा दमाई परिवारमा जन्मेका उनी सानोमा आफ्नो गाउँ (बाग्लुङ मल्म)को कोटमा पन्चैबाजा बजाउन जान्थे । गाउँमा उनीहरूले देवीको पूजाका बेला बढाइँ लगाउँथेँ, विशेषतः दमाहाको तालमा । उनीभन्दा पाका वाद्यवादक दमाईहरूले गाउँको कोटमा ‘मालसिरी’ भनेर एउटा ताल बजाउँथे, अझै बजाउँछन् । गाउँमा बजाइने मालसिरी ताल र उनले रेडियोमा सुनेको मालसिरी धुन कहीँकतै मिल्दैनथ्यो । त्यसो त बाजा नै फरक थिए ।

    ‘हाम्रा बाहरूले बजाउने मालसिरी धुन सायद यही (काठमाडौंमा बजाइने) धुनको अपभ्रंश रूप होला, यसबारे अनुसन्धान आवश्यक छ,’ संगीतकार अविरल भन्छन्, ‘मलाई रेडियोमा सुनेको मालसिरी धुनलाई नै नौमती बाजामा बजाउने रहर थियो, निकै वर्ष लाग्यो ।’ संगीतकार अविरल गायक, संगीत–संयोजकसँगै पन्चैबाजाका वादक पनि हुन् । उनले थुप्रै रेकर्डेड गीतमा पन्चै बाजा बजाएका छन् । पछिल्लो समय उनले संगीत विषय लिएर ललितकला क्याम्पसबाट स्नातकोत्तर गर्दै छन् ।

    क्याम्पसमा उनलाई मालसिरी धुन पढाइएको थियो। मालसिरी धुनलाई ‘नोटेसन’मै पढेपछि नौमती बाजामा संयोजन गर्ने आँट आएको उनी बताउँछन् । उनले संयोजन गरेको मालसिरी धुन परम्परागत धुनभन्दा फरक र अझ मौलिक सुनिन्छ । ‘मलाई लाग्छ, मालसिरी धुन थुप्रै रागको मिश्रणबाट बनेको हो । त्यसो हुँदा यो धुन गाउन र बजाउन अलि कठिन छ । यसलाई नौमती बाजामा ढाल्नै नसकिने भन्ने होइन, अभ्यास भने चाहिन्छ,’ उनी भन्छन्, ‘यो धुन सहनाईमा बजाउन अलि कठिन हुन्छ । मलाई यसको नोटेसन तयार गर्न धेरै समय लाग्यो । यसमा हाम्रो गाउँको कोटमा बजाइने बढाइँको ताललाई पनि लिएको छु ।’

    यस धुनमा बलबहादुर जैरुले सहनाई, रामचन्द्र परियारले नरसिंगा र धनबहादुर दर्जीले कर्णाल बजाएका छन् । ढोलकी, ट्यांको, दमाहा र झ्याली भने संगीतकार अविरलले नै बजाएका हुन् । यो धुन पाश्चात्य नोटेसनअनुसार माइनर स्केलमा छ । त्यसमा तीनवटै माइनर स्केल (नेचुरल, हार्मोनिक र मेलोडिक) प्रयोग भएको उनी बताउँछन् । ‘बेला बेला यसमा मेजर–मानइर सब्स्टिच्युसन मेथडको प्रयोग भएको छ,’ अविरल भन्छन्, ‘शास्त्रीय संगीत अनुसार स्वर समूहका आधारमा यो धुन पिलु तथा मिश्र पिलु रागको नजिक पाइन्छ । नेवार समुदायमा यसलाई राग मालसिरी भनेरै गायनवादन गर्ने चलन छ ।’

    उनका अनुसार, मालसिरी धुनलाई विभिन्न तालमा गायन–वादन गर्ने चलन छ । जस्तो ः रूपक ताल, झपताल, ख्याम्टा ताल । उनले संयोजन गरेको मालसिरी कहरवा तालमा छ ।

    मालसिरीको मूल र मल्लकाल

    दशैंमा देवी भगवतीको आराधना, उपासनामा बजाइने मालसिरी धुन कहिले, कसरी सुरु भयो भनी यसै भन्न सकिँदैन । मानव सभ्यता र संस्कृतिको इतिहासमा ईश्वर पुकार वा प्रार्थना आदिम कालदेखि नै जोडिँदै आएको छ ।आदिम मानिसले अलौकिक शक्ति र शासकलाई खुसी पार्न नाच, गान र वादनको सहारा लिन्थ्यो ।

    यही सिलसिलामा नृत्य, नाट्य र संगीतको उत्पत्ति भएको विद्वान्हरू बताउँछन् । अमेरिकी लेखक सेल्डन चेनीको आफ्नो पुस्तक ‘द थियटर: थ्री थाउजेन्ड एयर्स अफ ड्रामा, एक्टिङ एन्ट स्टेजक्राफ्ट’ अनुसार, आदिम मानिसले नृत्यको भाषामा आफ्ना देवतासँग कुरा गथ्र्याे, प्रार्थना र आभार व्यक्त गथ्र्याे । मालसिरी धुन पनि देवीदेवतासँगको प्रार्थनाकै पृष्ठभूमिमा बनेको हो । यो शाक्त परम्परा वा शक्तिकी देवीको उपासनासँग सम्बन्धित छ । यसको मूल खोज्दै जाँदा कम्तीमा दशैंको सुरुवातसम्म पुग्नुपर्छ ।

    संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा ‘विजयादशमीको दिन रामायणका पात्र रामले शक्ति स्वरूपिणी दुर्गा भवानीको आराधना गरी रावणलाई मार्न सफल भएको अनुश्रुति रहेको र यही आधारमा दसैंनिकै पुरानो भएको’ उल्लेख गरेका छन् । संस्कृतिविद् जोशीका अनुसार, मालसिरी ऋतुपरक धुन हो । उनले टेलिफोनमा भने, ‘लोकगीत र रागहरू ऋतुपरक हुन्छन् । हाम्रा अधिकांश लोकसंस्कृति र लोकगीत ऋतुसँग सम्बन्धित छन् । अस्ति भर्खर असार–साउनमा हामी असारेगीत वा भाकासँग भुल्यौँ । काठमाडौंमा शरद ऋतुसँगै मालसिरी धुन गाइन्छ, बजाइन्छ ।’

    काठमाडौं उपत्यकामा मल्लकालमा नगर विकास भएसँगै कला, संस्कृति फस्टायो । जोशीका अनुसार, विशेषतः मल्लकालमा नगरको संरक्षक वा संरक्षिकाको रूपमा चारैतिर देवी–देवता स्थापना गरियो र पूजा आराधना सुरु भयो । शक्ति उपासना वा देवीदेवताको पूजा भने लिच्छविकालदेखि नै सुरु भएको पाइन्छ । संस्कृतिविद् प्रा.डा. विणा पौड्याल मालसिरी धुन ‘दसैंको स्वागत गर्ने धुन’ भएको बताउँछिन् । उनी भन्छिन्, ‘नेवार समुदायले सयौं वर्ष अघिदेखि धार्मिक कार्यक्रममा बजाउँदै आएको धुन हो, मालसिरी । शास्त्रीय र लोकधुन मिश्रित भई १७औँ शताब्दीदेखि यो धुन काठमाडौं खाल्डोमा प्रचलनमा आएको अनुमान गरिएको छ ।’

    उनका अनुसार, नेपालभाषाको ‘संगीत चन्द्रा’ भन्ने पुस्तकमा यस धुनलाई भक्तपुरका राजा जगज्ज्योर्ति मल्लले सुरुवात गरेको प्रसंग आएको छ । प्राडा पौड्याल जुम्लातिरका मन्दिरमा पनि मालश्री राग बजाउने प्रचलन रहेको बताउँछिन् । जगज्ज्योर्ति मल्ल कला, साहित्य र संगीतप्रेमी देखिन्छन् । डा. गणेश क्षेत्री र रामचन्द्र रायमाझीको पुस्तक ‘नेपालको इतिहास’का अनुसार, वंशावलीहरूमा जगज्ज्योर्ति मल्ललाई कवि र संगीतकारका रूपमा प्रशंसा गरिएको छ । यिनले वंशमणि नामका मैथिली पण्डितसँग मिलेर ‘संगीत भाष्कर’ ग्रन्थको रचना गरेका थिए । योसँगै उनले केही नाटक र संगीतसम्बन्धी पुस्तक लेखेका थिए । यस आधारमा उनको समयमा मालसिरी धुन थप विकसित भएको सोझै अनुमान गर्न सकिन्छ ।

    काठमाडौं खाल्डोलाई केन्द्र बनाएर हेर्दा कला, साहित्य र संस्कृतिको विकासमा मल्लकाल महत्वपूर्ण मानिन्छ । स्थितिमल्ल (जयस्थिति)ले राजाको मृत्युमा अग्निसंस्कारका बेला दीपक राग गायन–वादनको रीत चलाएका थिए ।

    प्राडा जगदीशचन्द्र रेग्मीले आफ्नो पुस्तक ‘नेपालको वैधानिक परम्परा’मा जयस्थिति मल्लले राजाको मृत्युमा दीपक राग र प्रजाको मृत्युमा ३६ जातमध्ये कतिलाई काहाल बाजा बजाई जलाउने रीत चलाएको उल्लेख छ । दीपक रागलाई ठीकसँग गाउने–बजाउने हो भनी वातावरण अग्निमय हुने कथा पाइन्छ । जयस्थितिको रीतलाई हेरी स्वाभाविक प्रश्न उठ्छ– राजाको शव जलाउँदा दीपक राग नै किन गाउनुप¥यो होला ?
    मृत्युसंस्कारमा वाद्यवादन (शंख आदि)को अभ्यास नौलो होइन । हिन्दूको सोह्र संस्कारमध्ये अन्त्यकर्म (मृत्यु) संस्कार पनि पर्छ। यस संस्कारमा केही विधि छन् । जन्म मानिसको वशमा नभए पनि कर्मले मृत्युलाई भव्य बनाउन सकिन्छ भन्ने आकांक्षा र विश्वास मानिसमा विशेषतः राज्यको उत्पत्तिपछि वीरकालमा उत्पन्न भएको हो, जतिबेला राज्य जोगाउने, जित्ने वा लुट्ने नाममा युद्ध भइरहन्थे ।

    क्रमशः न्याय र सत्यका लागि जीवनको आहुति दिनेको मृत्युलाई भव्य मानिन थालियो । नेपाली समाजमा मलामी कमाउनुलाई ठूलो रूपमा लिइन्छ । मानिस जति ठूलो दिल वा पदको भयो, उसको मृत्युमा उति नै मानिस जम्मा हुन्छन् । राजा जयस्थितिलाई पनि राजाको मृत्यु भव्य बनाउन दीपक रागको गायनवादनको सल्लाह दिइएको हुन सक्छ । जयस्थितिले विभिन्न ब्राह्मणको सहायतामा नेवारी भाषामा जातपातमा आधारित ‘मानवन्यायशास्त्र’ लेखेका थिए ।

    स्वर समूहमा मालसिरी

    प्रा. मोहनराज शर्मा र डा. खगेन्द्रप्रसाद लुइटेलको पुस्तक ‘लोकवार्ता विज्ञान र लोकसाहित्य’का अनुसार, ‘मालश्री शब्दको अपभ्रंश रूप मालसिरी हो । मालश्रीलाई संगीतको महत्त्वपूर्ण राग मानिन्छ । यसै राग एवं लयमा आधारित भएर गाइने हुँदा यसको नाम मालसिरी नामकरण गरिएको हो । मल्लकालदेखि काठमाडौंमा प्रचलित मालसिरी पूर्व र पश्चिमका पहाडी भेगमा पनि प्रचलित रहेको पाइन्छ । मालसिरीको गायन बडादशैंका अवसरमा नौरथाभरि नै गरिन्छ । कतैकतै चैते दशैंमा पनि एक प्रकारको मालसिरी गाएको पाइन्छ ।’

    गायिका तथा ललितकला केन्द्रीय विभागकी अध्यक्ष संगीता प्रधान राणा मालसिरी धुनलाई नेपाली परम्परागत संगीत भन्छिन् । उनका अनुसार, लोकधुन वा लोकगीत, परम्परागत संगीत र शास्त्रीय रागमा फरक छ । रागको निश्चित नियम हुन्छ, नियममा आबद्ध भएर रागको गायन–वादन गरिन्छ । मालसिरी पराम्परागत संगीत हो । ‘लोकगीत वा लोकधुन भनेको जनजनमा परिचित हुन्छ । यो क्षेत्र अनुसार फरक पनि हुन्छ,’ उनी भन्छिन्, ‘परम्परागत संगीत भनेको विशेष चाडपर्वका अवसरमा गायनवादन गरिन्छ । मालसिरी परम्परागत धुन भएकाले यसमा अलिकति शास्त्रीयपन पनि छ ।’

    स्वर समूहका आधारमा हाम्रा अधिकांश लोकगीत कुनै न कुनै रागको नजिक हुने उनी बताउँछिन् । ‘रेशम फिरिरी (लोकप्रिय लोकगीत) लाई नोटेसनमा ढाल्दा राग भुपालीको नजिक पर्छ । यस्तै अरू लोकगीत पनि रागभूपालीमा पर्छन्,’ उनले भनिन् । संगीतका खोज अनुसन्धानकर्ता दीपेन्द्र वज्राचार्यका अनुसार, नेवार समुदायले उपत्यकामा पर्वविशेष दाफा भजन गाउने गर्छ । जसमा विभिन्न रागमा आधारित भजन छन् । यसअन्तर्गत मालसिरी धुन पनि गाइन्छ । काया अष्टमी (भाद्र शुक्ल अष्टमी)देखि मालसिरी गाउन थालिन्छ ।

    शास्त्रीय राग मालश्री र हाम्रो मालसिरी धुन स्वर समूहका आधारमा फरक रहेको उनी बताउँछन् । ‘हाम्रो मालसिरी विकृत–मिश्रित रूपमा सुनिन्छ, यसमा कताकता मिश्र पिलु रागको पनि छाया आउँछ,’ वज्राचार्य भन्छन्, ‘शास्त्रीय संगीतमा राग–रागिनी वर्गीकरण भएको थियो । जसअन्तर्गत राग श्रीको रागिनीका रूपमा मालश्रीलाई पनि राखिएको छ ।’

    ध्वनि तथा शब्द सादृश्यतामा मालसिरी

    नेपाली भाषामा ‘माल’ शब्दको ध्वनिसँग मिल्दाजुल्दा थुप्रै शब्द छन् । मालाको अर्थमा ‘माल’ शब्दको मात्र प्रयोग भएको पनि पाइन्छ । गाईगोरु, छेपारो आदिका घाँटीमा लट्कने छालालाई मालाको अर्थमा माल भनिन्छ । म केटाकेटी हुँदा दशैंछेक मालचरी (क¥याङकुरुङ चरा) निकैमाथिबाट उडेको देखिन्थ्यो । हाम्री हजुरआमा ‘मालाझैँ उनिएर (जोडिएर) उड्ने भएकाले मालचरी भनिएको’ भन्नुहुन्थ्यो। तर, यस्तो अर्थ नेपाली शब्दकोशहरूमा भेटिएन ।

    नेपाली भाषामा माला र मालिका शब्दको उस्तैउस्तै अर्थ पनि लाग्छन् । प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’मा मालाको अर्थ छ, ‘फूल, दुबो आदि एउटै सूत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु । सुवर्ण वा चाँदीको सूत्रमा जोडेर मणिमाणिक्य आदि जडी बनाइएको हार । लहर, ताँती, पंक्ति सिलसिला (पर्वतमाला, ग्रन्थमाला आदि) । समूह, समुच्चय ।’ त्यस्तै, मालिका अर्थ छ, ‘सानो खालको माला, पंक्ति, लहर, कण्ठहार, एक प्रकारको चमेलीफूल, देवीभगवती ।’

    खस संस्कृति (मष्टो) र खस साम्राज्यमा माला र मालिका (देवी)को प्रभाव निकै देखिन्छ । खसहरूको मष्टो परम्परा विभिन्न देवी–देवता (शक्ति उपासना)सँग सम्बन्धित छ । बाजुरास्थित बडिमालिकालाई मष्टो संस्कृतिका १६ बहिनी देवीमध्ये एक मानिएको छ । त्यस्तै, खस साम्राज्यका राजकुमारीहरूको नामको पछाडि माला शब्द जोडिन्थ्यो । जस्तोः शकुनमाला, धर्ममाला, दीपमाला, चन्द्रमाला, सूर्यमाला आदि । मष्टो परम्पराकी मालिका र मालसिरीको कुनै साइनो छ कि भन्नेमा खोज अनुसन्धान भएका होलान्, यो पंक्तिकारको अध्ययन पुगेको छैन । ‘श्री’ शब्दकै अपभ्रंश हो, ‘सिरी’। ‘श्री’को अर्थ हुन्छ, ‘विद्या, बुद्धि, सम्पन्नता, धनसम्पत्ति, ऐश्वर्य ।’ यस आधारमा नेपाली लोकधुन मालसिरीको अर्थ ‘देवीमा समर्पित फूल वा शब्दको माला’ भनी लगाउन सकिन्छ ।

    हिन्दी मिश्रित र चोखो नेपाली मालसिरी

    शर्मा र लुइटेलले भारततिरबाट भित्र्याइएकाले प्रारम्भिक मालसिरीमा हिन्दी शब्दहरूको प्रयोग पाइएको उल्लेख गरेका छन् । उनीहरूले पुस्तकमा तीनवटा मालसिरी गीत प्रस्तुत गरेका छन्– ‘हिन्दी मिश्रित पुरानो मालसिरी’, ‘चोखो नेपाली मालसिरी’ र ‘चैते दशैंको मालसिरी’ ।

    हिन्दी मिश्रित पुरानो मालसिरीः
    दिने धनजन मान भगवती,
    सकल परिजनसँग विराजे,
    अति मनोहरधाम भगवती
    अष्टसिद्धिसहित देवी दिजे अभयवरदायिनी ।
    अति कोमल हृदये जननी आकाश बीच तुम वासिनी
    कनक मनिपुर वास भगवती कनक मनिपुर वासिनी
    हृदये स्थिर करी चरन सेवक मन इच्छा फलदायिनी
    दुष्ट जन संहार करो देवी दिजे अभय वरदायिनी
    अनि अनाथ चरण सेवक दुखितजन प्रतिपालनी
    दुःख हि सागर डुबत दिनदिन करो कृपा प्रभु तरनी ।

    चोखो नेपाली मालसिरी:
    जयदेवी भैरवी दर्शन देऊ भवानी ।
    असुर विनाशिनी, जगत्की हितकारिणी
    श्रीदेवी भगवती दुर्गा भवानी
    जयदेवी गोरखकाली दर्शन देऊ भवानी
    हे हृदयजननी हे चण्डिके त्रिलोकी जगत्को प्रतिपाल गर माई
    हा हा दुर्गे ! प्रचण्ड रूपिणी कालिके प्रतिपाल गर
    शुम्भ निशुम्भ असुर मारी दुःख हरने सिकालिक ा।
    गंगा यमुना त्रिवेणी सँगमा मोक्षदायिनी कालिका
    चन्द्ररूपिणी प्रचण्ड रूपिणी रक्तबीजनिपातिनी
    शंख चक्र गदा पद्मले कोटी वान साजिनी
    लालरूप कपडाबीज असुरमारिणी सुधारिणी
    रक्तबीजको नाश गरन प्रकट हुनुभो है कालिका
    जयदेवी कालिका हे अम्बिका माता !
    सरन आयौ बालक हामी हर है सब दुःख अम्बिका !

    राष्ट्रिय बाजा नौमती !

    अधिकांश नेपालीले सुनेको र मन पराएको बाजा हो, नौमती तथा पन्चैबाजा । यस बाजाको इतिहास र विकास दमाई, दुन्दुभि, दुर्ग र युद्धसम्म पुग्छ । दसैंरामायणका पात्र रामको विजय र शक्तिरूपी दुर्गा भवानीले शुम्भ, निशुम्भ, महिषासुरादि असुरको विनाश गरेको कथासँग सम्बन्धित छ । दुर्गाको पूजा कोट÷कोतघरमा गरिन् । कोत-कोट अर्थ ‘सुरक्षाका लागि बनाइएको किल्ला, दुर्ग, गढी, मौलो पुज्ने ठाउँ ।

    हातहतियार, खरखजाना आदि राख्ने ठाउँ वा घर’ भन्ने हुन्छ । अधिकांश कोटघरमा दमाईले पन्चै वा नौमती बाजा बजाएपछि पूजा सुरु गरिन्छ । पन्चैबाजा नै नबजाए पनि देवीको ‘बढाइँ’का लागि दमाहा मात्रै भए पनि बजाउने चलन छ । दमाहा बजाउने नै दमाही-दमाई भएको कथा पाइन्छ । र, दमाहाको मूल प्राचीन बाजा ‘दुन्दुभि’सम्म पुग्छ । डा. ठाकुर जयदेव सिंहको पुस्तक ‘भारतीय संगीत का इतिहास’मा दुन्दुभि बाजा वैदिककालमा पनि प्रचारमा रहेको उल्लेख छ । सिंह लेख्छन्, ‘यो बाजा संग्रामका बेला उत्तेजनाका लागि, जयघोषका लागि र मंगलकार्यका बेला मन्दिरहरूमा बिहान–साँझ बजाइन्थ्यो ।’

    रामशरण दर्नालको पुस्तक ‘नेपाली बाजा’मा वैदिक वाङ्मयमा दुन्दुभिका अनेक नाम (दुन्दु, दुन्दुभ, दुन्दुभि, पटह, प्रणव, भेर, भेरी, आडम्बर, रणवाद्यम् आदि) रहेको उल्लेख छ। पछि यी नाम ढोल, नगरा र दमाहामा परिणत हुन गए । पृथ्वीनारायण शाहले नगरा बजाउने दमाई जातिको व्यक्तिलाई नगर्ची पदले सम्मानित गरी पञ्चैबाजा र नौमती बाजालाई धार्मिक संगीतको रूपमा मन्दिरहरूमा बजाउन लगाएका थिए । क्यारोल टिङ्गीको पुस्तक ‘हर्टबिट अफ नेपाल ःद पन्चै बाजा’ पुस्तकमा पञ्चैबाजा १४औँ शताब्दीमा राजपुत शरणार्थीबाट नेपाल भित्रिएको उल्लेख छ ।
    धार्मिक आस्था–विश्वास र मिथकहरू एकातिर छन्, पन्चैबाजा दमाई जातिको प्रतिभा र संस्कृतिसँग मूलभूत रूपमा जोडिएको छ । क्यारोल टिङ्गीले भनेझैँ यो बाजा अधिकांश नेपालीको हर्टबिट (हृदयको धड्कन) हो । पछिल्लो समय यस बाजालाई अन्य जातिले पनि आफ्नो जात जोडेर बजाउन थालेका छन् । हामी नेपालीका आ–आफ्ना भाषा–संस्कृति छन् ।

    हामीलाई जोड्ने शक्ति र सूत्र भनेकै बहुसंस्कृतिको सम्मान हो । सबै जाति तथा समुदायको संस्कृतिका विविध धुन बनाउन वा बजाउन नौमती-पन्चै बाजालाई राष्ट्रिय बाजाका रूपमा विकास गर्नेतर्फ बहस गर्न सकिन्छ ।

  • दसैं संगीतः
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

  • लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

  • सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

  • बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर


  • ग्लोबल अपडेटथप

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341

    लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

    Jagaran

    सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

    Cyber securety

    बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर

    Accdent
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution