• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ श्रावण २४, मंगलबार | Tuesday, 09, Aug, 2022
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुमा बाढी पहिरोको वितण्डा (कहाँ के के भयो, अपडेट र तस्वीरहरू)
  • २साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने
  • ३बहुप्राविधिक शिक्षालयलाई नसुधारे आन्दोलन गर्ने चेतावनी
  • ४जुगल गाउँपालिका अध्यक्षद्वारा सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह
  • ५इन्द्रावतीमा दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना
  • ६३ महीनादेखि तातोपानीमा १० हजार बोरा मल अलपत्र
  • ७हाम्रो दुई वर्षे यात्राः जनताको आवाज बन्यौं
  • ८सिन्धु युवाले दर्ता गरे पुनर्जागरण पार्टी

एक निराशावादीको तथ्यहीन इतिवृतान्त

सुमन बुढाथोकीप्रकाशित मिति: २०७८ फागुन ७, शनिबार (५ महिना अघि)
  • २७१ पाठक संख्या
  • Suman Budhathoki
    ‌‌‌

    (सावधानी : निम्न शब्दखेल नितान्त काल्पनिक हो । कसैको वास्तविक जीवनमा आंशिक या पूर्णतः मेल खान गए केवल संयोग मात्र हुनेछ । निम्न कथ्यको मपात्र काल्पनिक हो ।)

    एउटा निराशावादी मान्छेसँग सामान्य रुपमा जिन्दगी गुजारिरहेका मान्छेको कुनै साइनो हुँदैन। एउटा असफल मान्छेसँग सफलताको दौडमा लागेका मानिसहरूको के सम्बन्ध ?

    नैराश्य सरुवा रोग हो ! थाहा नपाएर धेरैलाई मैले दुनियाँदारी र जिन्दगीप्रति नमीठोपनले भरिदिएको थिएँ । तर जब थाहा पाएँ, मैले नाटक गर्न थालेँ- हरेकलाई उसको विचारको सम्मान गरिदिने, उसको निजी अहङ्कारको विरोधमा चुइँक्क नबोलिदिने, कारण जसरी म आफ्नो मूल्य र मान्यताको कारण ढिलो चाँडो यो वाहियात जिन्दगीदेखि पूर्णतः फरार हुनेछु, अरु पनि घुमाउरो बाटोबाट त्यहीँ पुग्नेछन् जहाँ मेरो लासले खरानी हुन मुखमा दागबत्ती खाएको थियो !

    विद्रोही मान्छे मौन भएर अहङ्कारीहरुको घमण्ड हेरेर पनि अधीर नभई बस्न सक्छ भने त्यो ज्यादै सुन्दर कुरा भैगयो नि ! क्या मज्जाको काइदा फेला पारिएको मीठो आनन्द भयो । अनि त म ‘दहीचिउरे’ मा गनिएँ ! कोही गम्भीर मान्छेले सोधे मात्र भनिदिन्थेँ, “खासमा म दहिचिउरे चाहिँ होइन, है ! हरेक मान्छेको आफ्नो बुझाइ हुन्छ र उसको बुझाइलाई कुराकानीको क्रममा स्विकार नगर्ने हो भने उसँगको संवादमा नै पूर्णविराम लागिहाल्छ र बिना कारण उसले तपाईँलाई आँखाको तारो बनाइदिन्छ र अनावश्यक गिजोल्ने मौका पाउँछ। खासमा, मान्छेलाई ऊ जे हो त्यही रूपमा बुझिदिनु ऊबाट छुटकारा पाउनु र आफ्नो स्वतन्त्रता जोगाउनु हो ! हेर्नुहोस् न, तपाईँलाई मैले धेरै आयामहरूमा चिनेको छु। तपाईँले पनि त मेरो तपाईँप्रतिको चिनारी केही हदसम्म स्पष्ट महसुस गर्नुभएको छ। र त तपाईँसँग जुन गम्भीरता र इमानदारितासाथ म वास्तविक तपाईँलाई नै सम्बोधन गरेर बोल्छु नि ! अनि तपाईँ र मेरो बीचमा हुने संवाद अरुसँगभन्दा फरक र जहिल्यै पनि सृजनात्मक नै हुन्छ, याद गर्नुहोस् त !” उसले कुरो बुझिहाल्थ्यो । र, यो पनि बुझ्थ्यो कि अस्ति उसले एउटा निम्छरो कुरा गरेको थियो जसको छुद्रता र फोहोरीपन मैले राम्रोसँग देखेको थिएँ र उसले आगामी दिनमा त्यस्ता झूर विषयमा मसँग बोल्ने नैतिक हिम्मत गुमाइसकेको छ ! र, मैले पनि यो कुरा राम्रोसँग आफैँलाई भनेको छु, उसले मेरो चरित्रको खोक्रोपन राम्रोसँग याद गरेको छ ! धन्य हो, जीवनमा ठूलो संकट आईपर्दा उसले कहिल्यै नसम्झने नाम मेरो हुनेछ !

    मेरो जिन्दगीप्रतिको वाकवाकी र वाहियातपनले मलाई दुनियाँको नजरमा ‘लठुवा’ र ‘एकलकाँटे’ बनाएको थियो । मलाई देखेर ‘विचरा !’ भनेर आफ्नो ‘सफलता’ को सन्तोष लिन्थे मान्छेहरु।  मलाई उनीहरू सबैसँग कहिल्यै कुनै तीतोपनले पिरोलेन । इख थिएन । इख नभएको मान्छेलाई कसैले साँच्चै महत्व दिँदैन । मेरो साँच्चैको महत्व त्यसैले कहिल्यै पनि कसैका लागि पनि थिएन । यसले मलाई अनौठो सुकून् महसुस हुन्थ्यो । कारण, कसैले मतप्रति लिने कुनै पनि अपेक्षा मेरो लागि नमीठो बोझ हुन्थ्यो र त्यसबाट आफूलाई उम्काएर स्वतन्त्रताको स्वास फेर्ने हत्तारोमा उनीहरूको अपेक्षा शीघ्र पूरा गरिदिन्थेँ ! यसरी म आत्महत्या गरिरहेको हुन्थेँ, अरुले मलाई मारिरहेको हुन्थ्यो र मलाई जिजस क्राइष्ट व्यक्तिगत रूपमा आफ्नै प्रिय आफन्त जस्तै लाग्न थालेको थियो ।

    मसँग आफ्नो लागि कहिल्यै खर्च हुँदैन थियो तर उधारो भने धेरैलाई दिएको हुन्थेँ । दिएर बिर्सिन सिकेको थिएँ किनभने दिएको पैसा मागीलिनु भनेको कसैको मनमा मप्रति नमीठोपनको बिउ रोपिदिनु हो र उसले मतप्रतिको अप्ठ्यारोपनमा मलाई बाँधेर राखिदिएको हुन्छ भन्ने डरले मलाई कसैसँग कुनै पनि चीज माग्ने विचार नै आउँदैनथ्यो । पूरा बाल्यकाल कसैको परोपकारमा बाँच्नुपरेको नैतिकबोझले सायद यस्तो भावना जागृत भएको होला। मेरो टुहुरो बाल्यकालले मलाई दुनियाँको आशे बन्नुको साटो आत्मनिर्भर बन्न लगायो ।

    पछि क्याम्पस पढ्ने हुँदा पनि, हरेक महिनाको दोस्रो या तेस्रो तारिख म मेरो मेहनतको एक थोपा पसीना समेत नपरेको पकेट खर्च हातमा थापिमाग्न एकाउन्टेन्ट दाइको अफिसमा पस्थेँ र उहाँलाई खुसी पार्ने नैतिक जिम्मेवारी महसुस गरेर यताउताका गफ गरेर धेरै पछाडि मात्र पैसा माग्थेँ र त्यो साँझ खूब जाँड पिउँथेँ । आफूसँग पैसा नहुनुमा जुन सरलता हुन्छ पैसा भएपछि एक किसिमको अनौठो बोझ उम्रिएर आउँछ । मलाई पैसासँग ठूलो घृणा लाग्छ र पैसा जस्तो घिनलाग्दो कुरा मान्छेको सभ्यतामा मान्छे बाहेक अर्को छैन । उफ् पैसाले मान्छेलाई कति फोहोरी बनाइदिन्छ र पैसा बनाउने मान्छे ईश्वरको नजरमा कति घिनलाग्दो हुन्छ होला ?

    डेराको भाडा, रासनको उधारो, छिनेको चप्पल मिल्काएर नयाँ लिने योजना, अनि आफ्नो गोप्य शहर भ्रमण… ठमेलको पिल्ग्रिम्स बुक हाउसमा दिनभरि किताबका जाकेट र विषयसूची पढेर साँझ केही किताब किनेर जतनले झोलामा हालेर फर्किनु, टोलमा राति अबेरसम्म जाँड पिएर जँड्याहा ब्रोहरुको कुरा आधा सुनेर झोलाको किताबबारे रोमान्चित भैरहनु र छ तारिखदेखि फेरि रित्तो खल्ती…

    जाने कहाँ ? हरेक पाइलामा पैसा माग्ने यो वाहियात शहरमा ? डेरामा दिनभरि किताब पढेर बस्यो, साँझ भट्टीमा उधारोमा झोल पिएर आधारातमा कहिले वर्षादमा भिज्दै कहिले आकाशको तारा हेर्दै डेरा फर्कियो, कहिले साथीभाइकै डेरामा बिहान अनौठो मनोदसामा बिउँझियो र घाम उदाउनुभन्दा निकै अगाडि नै बाहिर निस्कियो र ढुन्मुनाउँदै आफ्नै ओछयानमा आएर दिनभरि भोकै लडिरह्यो अनि साँझ फेरि कोही न कोही आफन्त बनिहाल्थ्यो कारण कसै न कसैलाई कुनै समस्या या पीरले डसेकै हुन्थ्यो र उसका पीरहरूसँग असल साथी भैदिन उसँगै पिइदिनैपर्ने हुन्थ्यो र पिइन्थ्यो र गाना गाइन्थ्यो… कहिलेकहीँ त लाग्छ, भट्टीमा नै हो मैले नारायण गोपाल र किशोर कुमारको स्वरको नक्कल गर्न जानेको र भित्रदेखि नै महसुस गरेर गाउन जानेको–
    “यो नशा जिन्दगीको,
    या हो नशा रक्सीको…
    जे थिए स्वप्न सबै
    पग्लिएर पानी भो
    के बिहान साँझ सबै
    जिन्दगी नै पर्दा भो
    मेरो बेहोसी आज…!”

    तिनै दिन थिए… अब छैनन् ।

    मेरो निजी मान्यताहरुमा आत्महत्या स्वतन्त्रताको एउटा यस्तो महत्वपूर्ण चाबी हो जसलाई सबैभन्दा आशावादी दर्शन एपिक्टेटसको स्टोइकवाद पढ्दा मैले ब्याच्लर्स दोस्रो वर्षमा फेला पारेको थिएँ । आह ! त्यसपछिका दिनहरूमा आत्महत्या, सन्यास, क्रान्तिकारी विद्रोह अर्थात् शोषणकारी सत्ताको प्रतिवाद गर्दै बलिदान हुनु अथवा कुनै दिन दुःसाध्य रोग लागेको अवस्थामा कसैको कुनै सहयोग नलिइकन सुटुक्क आत्महत्या गर्नुको रोमाञ्चित कल्पनाले मलाई केही वर्षहरूको गह्रुङ्गो बोझ खप्न सजिलो बनायो ।

    लाग्यो, आफन्तलाई पैतृक सम्पत्ति नामसारी गरिदिएर बनारसतिर जाऊँ र जे आइपर्ला बेहोरुँला नसके मरूँला भनी अठोट बाँधी हिँडिदिऊँ । र, लेखेँ पनि एउटा राजीनामा पत्र,-

    ‘लिखितम् जग्गा धनी फलानो… आफ्नो राजीखुसी र पूरा सचेत र स्वतन्त्र इच्छाले फलानो जिल्ला फलानो स्थानमा रहेको फलानो कित्ता नम्बरको फलानो क्षेत्रफलको जग्गा फलानो फलानो व्यक्तिका नाममा आफूखुसी भोगचलन तथा बेचबिखन समेत गर्न पाउने गरी सम्पूर्ण कानुनी अधिकार निजहरूमा नै हुने गरी आजको मितिदेखि यसै राजीनामा पत्र लेखी किनाराका साक्षीको रोहबरमा सहीछाप गरिदिएँ । इति… ‘

    तर, उनीहरूले मानेनन् । समाजको लोकाचारको डर लाग्यो होला अथवा अचानक पापबोधले मनको अन्तरमा टाउको उठायो होला, म बबुरो कसरी जानूँ । हातमा आइसकेको धनसम्पत्ति त्यागेर उनीहरूले ममाथि विजय हासिल गरे । मैले आफ्नो भागमा बिना परिश्रम आएको पैतृक सम्पत्ति लिनुपर्ने नै भयो र त्यहाँ एउटा छानो टाँगेर एउटा धूरी उभ्याउनुपर्ने नै भयो र समुदायको हिस्सा बनेर बाटो, वन र पानीको उपभोक्ता समूहमा प्रत्येक निश्चित अवधिमा निश्चित पैसा दिनुपर्ने नै भयो र मेरो अकाल मृत्युको अवस्थामा मैले मेरो लासलाई सद्गति पाउने भएँ, मलामीहरू आउने नै भए !

    म सहरमा एक असल परोपकारी संस्थाले दिएको सहयोगमा कानुन पढिरहेको थिएँ र देशमा ‘सबै मानिसको एउटै जाति बनाउन’ क्रान्तिकारी आन्दोलन उत्कर्षमा पुगेर देश ‘जनताको संविधान’ बनाउन होसिएको थियो र तिनै दिन राजनीतिक खेलको यथार्थ आफ्नै अनुभवबाट देखेर म चुपचाप किनारा लागेर ओझेल बनेको थिएँ। आह ! मोहभङ्ग थियो त्यो। जसरी जीवन भ्रममुक्तिको अविरल श्रृङखला हो !

    खैर, मानिसहरू सहयोग माग्न आउँथे कारण म बेरोजगार थिएँ र आरामसँग उनीहरूको काम गरिदिन्थेँ । जे पनि ओके ! नाइईँ, गर्दिनँ, सक्दिनँ जस्ता शब्द नै ननिस्कने मुखबाट, मनमा भने बाढी नै आएको हुन्थ्यो विरोधको बाढी !

    घरधनीको छतको पानीट्याङ्की सफा गर्नु, दुई महिनामा एक पटक रासन दोकानबाट ग्यासको सिलिन्डर ल्याइदिनु, उनीहरू दशैँमा गाउँ जाँदा कतै नगई कोठामै बसेर घर कुरिदिनु, साँझ बिहान बारीमा बोट बिरुवा र फूलहरूलाई पानी हालिदिनु, मलखादबाट मल निकालेर सुकाउनु, चिया पसलमा बसेर टोलका बूढापाकाहरूलाई पत्रिकाको समाचारमाथि कमेन्ट्री गरिदिनु र छसात गिलास निःशुल्क चिया र कहिलेकहीँ चना खाइदिनु, डेरा भाडाको म्याद गुजारेर पनि गाली नखाइदिनु, दिउँसोको खाजाको खर्च नपर्नु कारण पसले मेरो कुराहरू सुनेर प्रायः खुसी भैरहन्थे ।

    केही नियमित ग्राहक मलाई सोध्थे, “गोरे भाइ खोइ ?”, “त्यो वकिल खै ?”, “दारीभाइ कता छन् अहिले?” आदि ।

    मान्छेहरुलाई मेरो बेरोजगारीले बढो फाइदा पुगेको थियो, मेरो नैराश्यको धाराप्रवाह बोली सुनिरहन मन पराउने टोलका एकजना दाइ मलाई गल्लीमा देख्ने बित्तिकै रक्सी खुवाउन भट्टीतिर तानिहाल्थे, खूब पिइन्थ्यो, माओवादीहरू पतन भएको झोँकमा, भनेजस्तो जागिर नपाएको दुःखमा, आत्मविश्वास भत्केको यथार्थसँगको त्रासपूर्ण बोधमा, खूब पिइन्थ्यो र बोलिन्थ्यो, हाँसिन्थ्यो हँसाइन्थ्यो ! कोही मेरो निकम्मापनबाट आफ्नो मास्टर्सको थेसिस लेखाउन आए, लेखिदिएँ, पास भएको खुसियालीमा अर्को थेसिस ल्याइदिए, लेखेँ यसपटक बीस हजार रूपियाँ लिने सर्तमा.. अनि एकपछि अर्को थेसिस…! साँच्चै, कतिओटा पो मास्टर्स गरेँ, हँ ? हाहा ! जिन्दगी !

    पहिले म जोसुकैसँग आफ्ना मान्यताहरु उजागर गरेर बोलिदिन्थेँ, सोच्थेँ उसले मेरो वास्तविकता बुझोस् र आफ्नो बाटो लागोस् । मलाई गिजोल्ने धृष्टता उसलाई आवश्यक नरहोस् । आह ! मेरो स्वेच्छिक गरिबीले छिमेकीहरूको छटपटी बढेको हुन्थ्यो ! भोक खप्ने कलामा उचाइ चुमिरहेको हुन्थेँ तर हितैषीजनको दैलोमा हात फैलाउन जानेको थिइँन । माग्न नजान्नेलाई खूब हेप्छन् मान्छेहरु, सायद उनीहरूको अहङ्कारलाई फैलिनदेखि रोक्दछ र उनीहरूले मेरो भिखारीपनबाट आफ्नो उच्चताबोध गर्न पाउँदैनन् र रिसाउँछन् !

    कहिलेकहीँ मलाई लोभ लाग्छ, एक दुई जना साथीहरू मलाई प्रेरक व्यक्तित्व देखिदिन्छन् ! सोच्छु, उनीहरूको नजरले म स्वयम्लाई देख्न सक्थेँ भने गज्जब हुनेथियो । कहिलेकहीँ अत्यन्त निराश र रसातलमा धकेलिन लागेका मानिसहरू मसँग ठोक्किन आउँछन् । चाहना पनि अनौठो हुने रहेछ– मसँग ठोक्किएर कोही पनि चकनाचुर नहोस्, पीडित नहोस् बरु चोइटाहरू जोडिएर सग्लो भएर मबाट विदा लेओस्, पीडाको अनुभूतिलाई आत्मविश्वासको रुपमा बुझेर फर्कियोस् ! आह !

    आत्महत्या गर्न लागेको कोही मेरो कुनै शब्दमा अल्झिएर मसँग बोल्न आउँछ, भन्छ तिमी मेरो मानसिकता बुझ्न सक्छौ जस्तो लाग्छ, एकछिन कुरा गर्न सकिन्छ ? अवश्य सकिन्छ । सोध्छु, तिमीलाई आत्महत्या गर्न मन लागेछ, ठीक छ । यो इच्छा तिमीले आजसम्म बाँचेर आएको जिन्दगीका अस्विकार्य अनुभूतिहरूले विद्रोहको गर्जन गरेका हुन् । तिमीलाई जिन्दगी परिवर्तनको निख्खर तिर्खाले सताएको छ। आज आएर तिमीलाई आफ्नो सम्पूर्ण भोगाइ र निर्णयहरूको वाहियातपन स्पष्ट रुपमा बोध भएको छ। तिम्रो गुणस्तर वृद्धि भएको छ ! अब तिमीले आत्महत्या गर्नुको र नगर्नुको अर्थ छैन। गरे पनि हुन्छ, नगरे पनि हुन्छ। जे मन लाग्छ, गर।

    तर अधिकांश आत्महत्याको इच्छा व्यक्त गर्ने मान्छेलाई आत्महत्या गर्नुको महत्व रहँदैन र ऊ जसोतसो बाँचिरहेको हुन्छ।
    उदाहरण: म आफैँ उपस्थित छु। कहाँ सहीछाप ठोकौँ ? भनिहाल्नुस् न !

    अभिव्यक्त गरिएन भने विचार कहाँ जान्छ ? विचारले काममा या सचेत बुझाइमा अभिव्यक्ति पाएन भने त्यो कहाँ हराउँछ? दार्शनिक एमर्सन सम्झना हुन्छ, उनले यस्तै केही भनेका छन्, किताब पढिरहँदा अधिकांश हामीले आफ्नै परित्यक्त विचारहरुसँग अरुको शब्दमा अभिव्यक्ति पाएको भेट्ने गर्छौँ । ती विचार जसलाई हामीले तिनको अन्त्यसम्म पछ्याएनौँ, आलश्यवश् या अधीरतावश या तिनले माग्ने समय दिएनौँ अनि तिनले आकार प्राप्त गर्न सकेनन् । उनले चिन्तनको बानी बसाल्नुपर्छ भन्न खोजेका हुन् । आजको हतार एवं ध्यानमाथि चौतर्फी आक्रमणको युगमा मौलिक चिन्तनको ह्रास भइरहेको छ। यो गम्भीर विषय हो आफैंमा ।

    बाल्यकाल बिताएका ठाउँका चोक, गल्ली, भूदृश्य अथवा परिवेशमा हाम्रो आत्माका ससाना हिस्साहरु अन्जानवश कतै छोडिएका हुन्छन् क्यारे ! घरबाट चटक्कै चुँडिएर सानैमा म शहरमा हुत्याइएको थिएँ । तर म कहिल्यै सहरीया हुन सकिनँ । यो अलग कुरा हो । तर पनि मानिसले टेकेको जमिन, भेटेका मानिस, बिताएका उज्याला र अँध्यारा पलहरूले स्मृतिमा छायाँहरू छोडेका हुने रहेछन् जुन हाम्रो लागि घर भएका हुन्छन् ।

    घर भनेको आफ्नो अन्तर्यमा मान्छेले बारम्बार फर्किएर चीरपरिचित अनुभूतिमाझ आफूलाई अरुमा भेट्टाउने मानसिक अवस्था हो कि ? मलाई भक्तपुरको सानोठिमी र लोकन्थली कताकता आफ्नो घर लाग्ने गर्छ । त्यहाँ नितान्त एक्ला र निजी अनुभूतिहरुमाझ मैले केही यस्ता सुन्दर मान्छेको सङ्गत पाएको थिएँ कि तिनलाई सोचेर अहिले पनि आफूलाई भाग्यमानी ठान्छु ।

    म कहिलेकहीँ गाउँमा रहेको आफ्नो जन्मस्थान जाने गर्थेँ र मलाई त्यहाँको प्रत्येक कुरासँग असीम स्नेह र आकर्षणको बलियो अनुभवले बिरामी महसुस गराएको हेरिरहेन्थेँ । म अनौठो जादू महसुस गरिरहेको हुन्थेँ हरेक बिहान पहाडमा पोखिएको कलिलो घामको न्यानोपन आफूभरि थापेर, अज्ञेय खुशीको मन्द लयमा झुमिरहेको हुन्थ्यो मेरो चेतना त्यहाँका मान्छेको बोली सुनेर । तर दुई तीन दिनमै फर्किहाल्थेँ कारण मलाई शहरमा रहेको आफ्नो डेराको सरलता र रित्तोपनको तीक्ष्ण नियास्रो लागेको हुन्थ्यो । मलाई एक्लोपनको नशा लागेको थियो । बाह्र चौध दिन चुपचाप कोठामा बसिदिने गर्थेँ । मेरो कोठाभरि किताबको उपस्थिति हुन्थ्यो । झ्यालबाट बाहिरको भूदृश्य अत्यन्त शान्त र प्राकृतिक सौन्दर्यमय थियो । राति पर्दा खोलेर जून तारा हेरिरहनुको आनन्द, वर्षाको रातहरूमा पर्याप्त गुञ्जायमान हुने अनौठो संगीत सुन्दै किताबमा हराउनु र समय चटक्कै बिर्सिदिनुको निर्वाणानुभूति, आह ! कहिले ब्रह्ममूहुर्तमा ब्युँझिदा बाहिर विशाल नीरवता उभिएको गहिरो शीतलता महसुस गर्नुको रहस्यमय भावना । कहिले झलमल्ल सूर्योदयको तिख्खर रङदानी आकाशभरि पोखिएको हेरेर कालो चियाको चुस्कीसँगै आफ्नो सम्पूर्ण विगत विस्मृतिमा खसेर आफू पुनः बालक बनेको हेरिरहनु ! मलाई संसारमा सबैभन्दा प्रिय नै त्यो लोकन्थलीको डेराको कोठा होला भन्ने कसैले बुझ्न सक्दैन । त्यो कोठामा रहनुको आनन्दको दोष हो कि धेरै सुन्दर युवतीहरूले मेरो ध्यान बिथोल्ने सामर्थ्य राखेनन् ! मेरो स्वतन्त्रताको प्रेक्षालय, मेरो कोठा !

    यसरी यहाँ मैले जीवनका एघार वर्ष गुजारेँ ! एघार वर्ष, अनौठो एकान्तको एक अद्भुत अवधि जहाँ मैले भित्तामा आफूलाई देखेँ, मौनतामा आफूसँग साउती गरेँ, र होसमा आएँ, अनि बेहोसीमा पनि लडेँ ! त्यो कोठामा मेरो आत्माका चोइटाहरू छोडिएका छन्, त्यसबाट मलाई बिथोल्ने हरेक मान्छेले मलाई दुनियाँ प्रति वाहियातपन भरिदिएको छ । मलाई मान्छेहरु कहिल्यै मन परेनन्, मान्छेको परपर सुनिने गुनगुन मात्र मन पर्यो अनि आफ्नो एक्लोपनको सरलताले आफूमा समेटेर मलाई थामिराख्यो आफ्नै टुक्राहरूमा छरपस्ट हुन नदिई जोगाइराख्यो !

    यो कथा कहीँ जाँदैन । पढ्न रोक्नुहोस् ।
    अस्तु !

  • कथा
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • सिन्धुमा बाढी पहिरोको वितण्डा (कहाँ के के भयो, अपडेट र तस्वीरहरू)

  • साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने

  • बहुप्राविधिक शिक्षालयलाई नसुधारे आन्दोलन गर्ने चेतावनी

  • इन्द्रावतीमा दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना


  • ग्लोबल अपडेटथप

    सिन्धुमा बाढी पहिरोको वितण्डा (कहाँ के के भयो, अपडेट र तस्वीरहरू)

    Pahiro4

    साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने

    Election-commission-nirbachan-aayog

    बहुप्राविधिक शिक्षालयलाई नसुधारे आन्दोलन गर्ने चेतावनी

    Dinesh Ramji Memorial Polytechnic Institute

    जुगल गाउँपालिका अध्यक्षद्वारा सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह

    20220806_103118
    बढी पढिएका
    १

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    २

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    ३

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ४

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार
    ५

    बाँडफाँट भयो मध्य भोटेकोशी जलविद्युतको आईपीओ

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    sundarshireesh@gmail.com

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: news.globalpatee@gmail.com

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution