चौतारा । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोक शाखाले साईबर सेक्युरिटी सम्बन्धी अन्र्तक्रिया गरेको छ ।
‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ नारासहित नेपाल पत्रकार महासंघको सभाहलमा गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवद्र्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको जनाए । उनले प्रविधिको प्रयोगमा बृद्धि भएपनि तर त्यसलाई सही तरिकाले उपभोग गर्न नसक्दा अहिले प्रयोगकर्ताहरु विभिन्न रुपबाट सिकार हुनु परेको बताए ।
‘अहिले मोबाईलबाट सबै काम गर्न सकिन्छ’, उनले भने– ‘तर त्यसको प्रयोगमा कत्तिको सुरक्षा अपनाईएको छ भन्ने ख्याल गरिएको पाईदैन । जसले गर्दा समाजमा आपराधिक घटना पनि बढिरहेको छ ।’ क्यान सिन्धुपाल्चोकले साईबर सुरक्षाबारे अन्तर्क्रिया गरेर प्रविधिको सही प्रयोग गर्दै जोखिमबाट बच्न सघाईरहेको बताए ।
कार्यक्रममा साईबर अपराधको बारे सचेत हुनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामाले प्रविधिको सही सदुपयोग गर्न सचेत गराएका थिए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सिन्धुपाल्चोकका महासचिव हरिकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतले शुभकामना प्रदान गरेका थिए ।
क्यान सिन्धुपाल्चोकका सचिव सुन्दर शिरीषद्वारा नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७४ सालबाट राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको जानकारीसहित सुभारम्भ गरिएको कार्यक्रममा साईबर सेक्युरिटीका अनुसन्धानकर्ता एवम् क्यान सिन्धुपाल्चोकका सहसचिव सुवास कुँवरले साईबर सेक्युरिटीको विभिन्न पाटोभित्र रही प्रस्तुतीकरण गरेका थिए ।
क्यान सिन्धुपाल्चोकका अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै प्रशिक्षक कुँवरलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, बुद्धिजीवि, प्रविधिक्षेत्रमा काम गर्दै आइरहेको व्यक्ति व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ